सिराहाको भगवानपुर स्वास्थ्य चौकी परिसरमा सर्पले टोकेका चार वर्षीय बालकको लहान लैजाने क्रममा बाटोमै मृत्यु भएपछि स्थानीयवासीले आन्दोलन सुरु गरेका छन्।
स्वास्थ्य चौकीको लापरबाहीका कारण भगवानपुर गाउँपालिका–४ का रोशनकुमार मण्डलको मृत्यु भएको भन्दै रुष्ट स्थानीयवासीले शनिबार भगवानपुर चोकमा टायर बालेर सडक अवरुद्ध पारेका हुन्।
शुक्रबार दिउँसो १२ बजेतिर आमा सुलेखा मण्डलसँगै उपचारका लागि स्वास्थ्य चौकी आएका बालक रोशन परिसरभित्र खेलिरहेका बेला सर्पले टोकेको थियो। बालकलाई लहान लैजानका लागि स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको आदेश नआइ लैजान नसकिने अडान लिएका थिए।
एम्बुलेन्स नपाएपछि सिटी रिक्सामा राखेर १२ किलोमिटर टाढा लहान अस्पताल लैजाँदै गर्दा ढिला भएकाले विष फैलिएर बाटोमै बालकको मृत्यु भएको स्थानीयको भनाइ छ।
घटनाका सम्बन्धमा भगवानपुर गाउँपालिका–४ का वडाध्यक्ष रामकुमार यादवले स्वास्थ्य चौकीको सरसफाइमा ध्यान नदिनु र समयमै एम्बुलेन्स उपलब्ध नगराउनु व्यवस्थापकीय कमजोरी भएको बताउँदै स्थानीयको आन्दोलन जायज रहेको बताउनुभयो।
यता, स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट राजेश यादवले भने बालकलाई सर्पले टोकेको हो या विद्युतीय करेन्ट लागेको हो भन्ने यकिन गर्न समय लागेको दाबी गर्नुभयो। उहाँका अनुसार एम्बुलेन्स तयार पारिँदै गर्दा बालककी आमाले आफैँ सिटी रिक्सामा राखेर लहान लैजानुभएको हो।
गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको उपस्थितिमा घटनाबारे छानबिन गर्न बैठक बसिरहेकाले त्यसपछि मात्रै थप प्रतिक्रिया दिन सकिने हेल्थ असिस्टेन्ट यादवले जानकारी दिनुभयो।

प्रतिकृयाहरु