काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका–१ चुनदेवी क्षेत्रमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार मृतक तारकेश्वर नगरपालिका–९ निवासी ४५ वर्षीया रश्मि रिजाल हुन्।
प्रहरीका अनुसार रिजाल शुक्रबार बिहान कार्यालय जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। तर उनी कार्यालय नपुगेपछि परिवारले उनी बेपत्ता भएको भन्दै सोही दिन प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए।
परिवारको सूचनाका आधारमा प्रहरीले खोजी कार्य तीव्र बनाएपछि शनिबार चुनदेवी क्षेत्रमा पार्किङ गरिएको कारको पछाडिको सिटमा जलेको अवस्थामा रिजालको शव फेला परेको हो।
प्रहरीका अनुसार कारको भित्री भाग अधिकांश जलेको अवस्थामा रहेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा धुवाँका कारण निस्सासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको भए पनि घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट र फरेन्सिक परीक्षणपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।
घटनास्थलको मुचुल्का उठाएर प्रहरीले आवश्यक प्रमाण संकलन गरिरहेको छ। साथै घटनामा कुनै आपराधिक संलग्नता, आगलागीको कारण तथा अन्य सम्भावित पक्षबारे विस्तृत अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप विवरण सार्वजनिक गरिने जनाएको छ।

प्रतिकृयाहरु