पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गर्नुभएको छ । बुधबार त्रिभुवन विमानस्थल हुँदै उहाँ सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नुभएको हो ।

शारीरिक अशक्त रहनुभएका उहाँका दुवै खुट्टा छैनन् । उहाँ कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुनुहुन्छ ।

सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानु भन्दाअघि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले पाँच वर्षको पखाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरूलाई खुसी दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्त्वपूर्ण रहेको बताउनभयो । उहाँले आफ्ना लागि सगरमाथा आरोहणको समय दुई महिनाको हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पाँच वर्षको धेरै बाधा अड्चनपछि फाइनल्ली म सगरमाथातर्फ प्रस्थान गर्दैछु । शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई विश्वास गर्न धेरै सानातिना सगरमाथा चढ्नुपरेको छ । म धेरै खुसी छु, म मात्रै होइन, म जस्ता धेरै अशक्त व्यक्तिलाई सगरमाथा चढाउनु छ । हिमाल चढ्न चाहनेलाई हिमाल चढाउनु । मेरो आरोहण दुई महिनाको हुनेछ ।’’

सन् २०१० मा अफगानिस्तानको लडाइँमा उहाँले दुवै खुट्टा गुमाउनुभएको थियो । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुनुहुन्छ । बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गर्नुभएको छ । उहाँले २०१७ मा मेरा चुचुरो आरोहण गर्नुभएको थियो र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बन्नुभयो । उहाँको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो । यसअघि पनि उहाँ सगरमाथाको आधार शिविरसम्म पुगिसक्नुभएको छ ।