नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अनुशासनको कारबाही गरेको छ । 

कांग्रेस नेता मीन विश्वकर्माका अनुसार बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय थापा र शर्मासँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई अनुशासनको कारबाही गरेको हो । 

संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन आह्वान गरेर महामन्त्रीद्वयले पार्टी अनुशासन विपरीत काम गरेको भन्दै  कारबाही गर्ने निर्णय गरेको हो । 

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बुधबार सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधान र हितविपरीत गतिविधिमा संलग्न रहेको आरोपमा पार्टी सदस्यबाट पाँच वर्षका लागि उहाँहरूलाई  निष्कासन गरेको विश्वकर्माले जानकारी दिनुभयो । 

महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री मन्सुरले कांग्रेसको विशेष महाधिवेशन पक्षद्वारा आह्वान गरिएको विशेष महाधिवेशनको अगुवाइ गर्नुका साथै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउने कार्यमा संलग्न रहेको संस्थापन पक्षको आरोप छ ।

विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ । केन्द्रीय समितिको यो निर्णयसँगै नेपाली कांग्रेस औपचारिक रुपमा विभाजनतर्फ अघि बढेको छ । 

काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि भइरहेको विशेष महाधिवेशन अन्तर्गत अहिले सर्वसम्मत नयाँ कार्यसमिति गठन गर्ने गृहकार्य भइरहेको छ ।