वीरगञ्ज — नारायणी अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड तथा चिकित्सकमाथि कुटपिट भएको घटनाको अनुसन्धानका क्रममा वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि वडाध्यक्ष चतुर्वेदीसँगै अंकित पटेल र शैलेश पटेललाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने तयारी गरिएको छ। आवश्यक म्याद थपका लागि उनीहरूलाई आजै जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराइने प्रहरीले जनाएको छ।
रिहाइको माग, आन्दोलनको चेतावनी
यसैबीच, वीरगञ्ज महानगरपालिकाको नगर परिषद् बैठकले वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।
परिषद्ले जननिर्वाचित जनप्रतिनिधिलाई पक्राउ गर्नु अन्यायपूर्ण भएको दाबी गर्दै तत्काल रिहाइको माग गरेको छ। साथै, यदि चतुर्वेदीलाई शीघ्र रिहा नगरिए चरणबद्ध आन्दोलन सुरु गरिने चेतावनी पनि परिषद् बैठकले दिएको छ।
उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ भने घटनाको वास्तविक कारण र संलग्नताको विषयमा अनुसन्धानपछि थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिकृयाहरु