काठमाडौं,माघ १० गते । दक्षिण प्रशान्त महासागरमा पानी भित्र भएको ज्वालामुखी विष्फोटको असर नेपाली ईन्टरनेटमा नपरेको नेपालका इन्टरनेट सेवा प्रदायकले जनाएका छन् । केही दिन अघि महासागरभित्र ज्वालामुखी विस्फोट हुँदा समुन्द्रमुनिका केवलहरुमा समस्या आएको बताइएको थियो । मुख्य रुपमा नेपालमा प्रयोग गरिने ईन्टरनेट भारतबाट ल्याईने भएकाले दक्षिण प्रशान्त महासागरमा भएको ज्वालामुखी विस्फोटको असर नेपाली ईन्टरनेटमा नपर्ने सेवा प्रदायकले जनाएका छन् । सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । तर, समुन्द्रमुनी आएको ज्वालामुखीका कारण भने नेपाली ईन्टरनेटलाई असर नपार्ने उनीहरुले बताएका छन् । सेवा प्रदायक संस्था इन्फोकमका एक अधिकारी तिलक खड्काका अनुसार नेपालमा प्रयोग गरिने इन्टरनेट भारतबाट ल्याएर विस्तार गरिएको हुन्छ । तर,अहिले ल्याइएको ईन्टरनेटमा समस्या नदेखिएकाले नेपाली ईन्टरनेटमा असर नपरेको उहाँ बताउनुहुन्छ । ‘नेपालमा प्रयोग गरीने ईन्टरनेटहरु भारतबाट ल्याएर वितरण गरिएको छ । ह.अहिले त्यो ईन्टरनेटमा समस्या देखिएको छैन् ।त्यसैले नेपाली ईन्टरनेटमा समस्या छैन,’खड्काले भन्नुभयो । यस्तै अर्को सेवा प्रदाय सुविसुका एक अधिकारीले कुनै सेवा क्षमता भन्दा धेरै प्रयोग हुँदा र उपभोक्ताले प्रयोग गर्ने डिभाइसको गुणस्तर आदि कारणले पनि इन्टरनेट स्लो हुन सक्ने बताउनुभयो । सेवा प्रदायक इस्टलिङकले पनि आफ्नो इन्टरनेटमा समस्या नरहेको जनाएको छ । इस्टलिङ्कका एक अधिकारीले कुनै बेला फेसबुक, युटुब, टिकटकलगायतका प्लेटफर्ममै समस्या आएको अवस्थामा पनि उपभोक्ताले इन्टरनेट सेवा प्रदायकलाई दोषी ठान्ने गरेको गुनासो गर्नुभयो ।