औषधि व्यवस्था विभागले गुणस्तरमा कमी देखिएको भन्दै नेपालका दुइटा निजी कम्पनीलाई तिनले उत्पादन गरेका प्यारासिटामोल ट्याब्लेटहरू बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
औषधि व्यवस्था विभागका अनुसार लोमस फर्मास्यूटिकल्स प्राइभेट लिमिटेडबाट उत्पादित 'सिटोफेन' र क्युरेक्स फर्मास्यूटिकल्सद्वारा उत्पादित 'रेक्सामोल'को बिक्री वितरणमा रोक लगाएको छ।
ती दुवै औषधि आवश्यक मात्रामा रगतमा घुलमिल हुन नसकेकाले निष्प्रभावी पाइएको र त्यसो हुनाको कारणबारे जाँच गरेर प्रतिवेदन पेस गर्न सम्बन्धित औषधि उत्पादन कम्पनीलाई निर्देशन दिइएको विभागका महानिर्देशकले बताए।
ज्वरो नियन्त्रण र दुखाइ कम गर्न प्रयोग हुने प्यारासिटामोल सर्वसाधारण मानिसले व्यापक रूपमा प्रयोग गर्ने औषधि हो।
विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरू भिन्नाभिन्नै नाम दिएर उक्त औषधिलाई बजारमा पुर्याउने गरेका छन्।
औषधि व्यवस्था विभागले बजारमा ती दुई कम्पनीले पठाएका निश्चित ब्याचका सिटोफोन र रेक्सामोल नामक औषधि न्यून गुणस्तरको पाइएकाले बिक्रीवितरण रोक्का गरिएको जनाएको छ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बीबीसीसँग भने, "हामीले केही नमुनाहरू परीक्षण गराएका थियौँ। त्यसको घुलनशीलताको मापदण्ड पूरा नभएको पाइयो। ट्याब्लेट शरीरभित्र पुगेपछि टुक्रिन्छ। अनि खास औषधिको तत्त्व जुन हुन्छ, जसलाई हामी सक्रिय तत्त्व भन्छौँ, त्यसलाई शरीरले ग्रहण गर्नुपर्छ।"
उनले थपे, "प्यारासिटामोलको हकमा तोकिएको समयभित्र ७० प्रतिशतभन्दा बढी घुलनशील भएको हुनुपर्छ। हामीले जुन नमुनाको जाँच गर्यौँ तिनमा त्योभन्दा धेरै तलमात्रै घुलनशील भएको पाइयो। त्यसैले गर्दा हामीले तुरुन्तै बजारबाट फिर्ता गर्ने र किन यस्तो भयो भनेर अनुसन्धान गरेर मात्रै उसलाई पुन: उत्पादन गर्न अनुमति दिने भनेर हामीले कारबाही गरेको हो।"
महानिर्देशक ढकालले औषधि उत्पादनकर्ता कम्पनीले गुणस्तरीय भएको दाबी गरेर आफूले उत्पादन गरेका प्यारासिटामोल ट्याब्लेट बजारमा लगेका थिए। उनका अनुसार अहिले निलम्बन गर्ने निर्णय पनि कारबाहीसरह भएको उनको भनाइ छ।
"निलम्बन पनि ठूलो कारबाही हो। कसैको शरीरमा नोक्सान गर्यो कि गरेन भन्ने कुराको प्रमाण हामीसँग नभई थप कारबाही गर्न पनि मिल्दैन। उसले नियोजित रूपमा नै कम गुणस्तरीय औषधि ल्याएको प्रमाणित भयो भने त्यो पनि कारबाही हुन्छ।"
औषधि व्यवस्था विभागका महानिर्देशकले सम्बन्धित कम्पनीले आन्तरिक अनुसन्धान गरी बुझाउने प्रतिवेदनको आफूहरूले प्राविधिक समीक्षा गर्ने पनि बताए।
हाल औषधि व्यवस्था विभागले बिक्री वितरण रोक्का गरेका सिटोफेनका ब्याच "CT-2723" र "CT-1123" रहेको सरकारी सूचनामा उल्लेख छ। त्यसै गरी रेक्सामोलको ब्याच "TRX-695" को बिक्रीमा पनि रोक लगाइएको छ।
-बीबीसी

प्रतिकृयाहरु