त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि-२० शृङ्खला नेदरल्यान्ड्सले जितेको छ । आज भएको फाइनल खेलमा नेपाललाई चार विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नेपालले आठ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । नेपालले उपाधि जित्न दिएको १८५ रनको लक्ष्य नेदरल्यान्ड्सले तीन बल बाँकी छँदा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

नेदरल्याण्ड्सका माइकल लेभिटले अर्धशतक पूरा गरे । लेभिटले २९ बलमा छ चौका र तीन छक्काको मद्दतमा ५४ रन बनाएका थिए । स्याब्रान्ड एंगेलब्रेक्टले चार चौका र तीन छक्का प्रहार गर्दै ४८ रन बनाए । म्याक्स ओडाउड व्यक्तिगत २३ रनमा आउट भए ।

यता नेपालका तर्फबाट कुशल मल्लले चार विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । नेपालले २३ रन जोड्दा ३ दशमलव ३ ओभरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भए ।

रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका थिए । त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए । आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके । उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए ।

गुल्सन झाले ११ बलमा तीन छक्काको मद्दतमा २६ रन बनाए । पाँचौ नम्बरमा ब्याटिङमा आएका दीपेन्द्र सिंह ऐरीले एक रन मात्र बनाउन सके । करण केसीले नौ रन बनाए भने आरिफ शेखले खाता नै खोल्न सकेनन् ।