विभिन्न स्थानमा रहेका नुवाकोटका अधिकांश औषधि पसल मापदण्डविपरित रहेको पाइएको छ । स्थलगत छड्के अनुगमनका क्रममा औषधि पसलहरु मापदण्डविपरित सन्चालनमा रहेको पाइएपछि औषधि पसलहरु शिल गरि वन्दसमेत गरिएको छ ।

नुवाकोटको विदुर नगरपालिकाभित्र सञ्चालित औषधि पसलहरुमा जिल्ला बजार अनुगमन समितिले औषधि व्यवस्था विभागका प्राविधिकसहितको टोलीले गरेको संयुक्त अनुगमनको क्रममा अधिकांश औषधि पसलहरुले स्वास्थ्य सेवाका आधारभूत मापदण्डसमेत पालना नगरेको पाइएको छ ।

विदुर नपा १, २, ४, ५ र ९ मा सञ्चालित १९ वटा औषधि तथा फार्मेसी पसलहरुले मापदण्डको पालना नगरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । अत्याधिक तापक्रममा कतिपय फार्मेसीले फ्रिज नचलाई खोप भण्डारण गरेको पाइएको छ । कतिपय फार्मेसीमा रेफ्रिजेरेटरको तापक्रम नमिलेको पनि पाइएको छ ।

उच्च तापक्रम भएको अस्थायी घुम्ती टहरोमा औषधि राखिनु, औषधि पसलमा मापदण्ड पुरा गरेको नपाइएछि चार वटा औषधि पसल वन्द गरिएको छ । कोलोनीमा दुई, विदुर र देवीघाटमा रहेको एक-एक फार्मेसीमा ताला लगाई वन्द गरिएको छ ।

औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाण पत्र राखेर अर्कैले फार्मेसी चलाएको, दर्ताविना नै चलाइएको पाइएको, बिलमा म्याद सकिने (एक्स्पायरी डेट) मिति, ब्याच नम्बर उल्लेख नभएको, औषधि पसलमा हुनुपर्ने सरसफाई नपाइएको, औषधि भण्डारण स्थल र औषधि राख्ने फ्रिजमा गैह्र औषधि राखिएको पनि पाइएको अनुगमनमा सहभागी उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा तत्काल सुधार गर्नुपर्नेलाई सुधार गरिहाल्न निर्देशन दिइनुका साथै अधिकांश औषधि पसल तथा फार्मेसीलाई आवश्यक सक्कल कागजातसहित तीन दिनभित्र औषधि व्यवस्था विभागमा आउन विभागको टोलीले पत्र काटेको छ ।