एकातिर सिन्धुपाल्चोकको मेलम्ची वजार र त्यसका आसपासका महत्वपुर्ण शहरी तथा ग्रामिण क्षेत्रमा आएको अकल्पनिय बाढीको प्रभावका कारण हुन गएको क्षतिले त्यहाँका आम बासिन्दा तथा त्यस क्षेत्रमा व्यवसाय संचालन गरि बस्ने तमाम नागरिकहरुको जिवनमा संकटको ठुलो भुमरी देखा परेकोछ । यस विचमा अर्बौको सम्पत्ति क्षणभरमै स्वाहा भएको छ भने केही व्यक्तिहरुको मृत्यु हुनुका साथै केही अझै हराई रहेकाछन् । यस घटनाका कारण मेलम्ची नगरपालिका, हेलम्बु गाँउपालिका र सिङ्गो सिन्धुपाल्चोक जिल्ला शोकमा डुबिरहेको छ । जस्ले आफ्नो जिवनभरको कमाइबाट सृजित सम्पत्ती गुमाएकोछ, परिवारको सदस्यको सास वा लास फेला पारेको छैन । ढल्न र डुब्न लागेको संरचनालाई एकोहोरो हेरिरहेकोछ , डुबिसकेको संरचना र ति सुकिला उर्वर फाँटहरुको तस्विर सम्झीरहेको छ, निरन्तर रोईरहेको छ, बस्ने बास उखलिएको छ, भएको सम्पत्ती नासिएको छ, कमाई खाने जमिन बिलिन भएको छ समग्रमा भनौ तिनका परिवारका सन्तान जस्ले आफ्नो भविष्यमा बादल लागेको अनुभव र अनुभुति गरेर गाँस, वास र कपासको प्रतिक्षा गर्दै कष्ठकर पलहरु व्यतित गरिरहेका छन्   I
अर्को तिर केही मानिसहरु यसलाई एउटा अवसर मानेर खोज पत्रकारिताको नाममा उहि रमिते प्रश्नको वर्षा गराएर पिडा माथि पिडा वोध गराउदैछन । लाग्छ उनिहरु समस्या समाधान गर्न सम्वन्धित निकायलाई उत्प्रेरित गर्ने भन्दा पनि त्यहाँ पिडा बल्झाउन उद्यत छन । यस कार्यमा केही संचारकर्मी, केही मिडियाकर्मी त केही मिडिया भन्दा पर सोसल मिडियाका साथीहरु (सामाजिक संजालका प्रेमिहरु) समेत निरन्तर लागिरहेका छन् । केही मानिसहरु चिरिच्याट्ट सजिएर भत्किदै गरेको डिल, बग्दै गरेको फाँट र डुब्दै गरेको संरचनाको छेउमा उभिएर टिकटक बनाएर भाइरल बनाउदैछन भने केही मानिसहरु जस्ले यस नगरको करिब २०० वर्ष पुरानो इतिहास थाहा पाएन, इतिहास पढेन या समग्र नगरको बारेमा केही नबुझि अत्यन्तै हलुका हिसाबले यती अशभ्य, निच र पतित टिप्पणी गर्दैछन ! जस्ले थप पिडा माथि पिडा थपिदिएकोछ । उनिहरु कसरी भन्दैछन ‘वस्ति, खोलामा छ !

सरकारी जमिन मिचे पछि यस्तै हो ! त्यहाँका मानिसहरुलाई पाप कराएको होला ! खोलामा बस्ती बसाले पछि त्यस्तै हो ! ! ! .....‘ यस्तै यस्तै कयौँ मन कुडिने खालको प्रश्न, टिप्पणी र विषय उठानले ति पिडितहरुमा के कस्ता खालका असर पर्ला ? के यस्ता प्रश्न र टिप्पणीहरु जायज छन त ? यहाँ केही कुरा भन्नु छ र मन शान्त पार्नुछ । 
संसारका मानिसहरुको स्वभाव खुसिमा रमाउने र मात्तिने, दुःखमा दुखित हुने र आत्तिने प्रकृतिको मनोभाव बोकेको हुन्छ, फरक यत्ति हो कि त्यसमा मानिसको मनस्थितीको डुवाई र उस्को सोच फरक हुनसक्छ । यद्यपी सुखमा खुसि हुने र दुःखमा दुखित हुने स्वभाव सबमा आउछ, कसैले यसलाई देखाउछन, त कसैले यसलाई लुकाउछन, विषय चै साझा हो । मानिस पिडामा पर्दा अरुलाई पिडा साटेर मन हलुको पार्न चाहन्छ ,अन्य यस्तै घटनाहरुको साहरा लिएर यादमा डुब्छ र हिम्मत गर्छ कि संसारको रित यस्तै हो, हिजो उसलाई पर्यो, आज मलाई । यसरी हिम्मत बटुलरे बाँच्ने साहसको खोजीमा बसेका आम नागरिकहरुको पिडालाई छायाँमा पारेर हामीले कुन खालको मानविय संवेदना व्यक्त गरिरहेकाछौं ! आज अरुलाई खाने बाघले भोली आफुलाई पनि त खान सक्छ ! प्राकृतिक विपत्ति र मानविय संकट विना सूचना तपाई हामी जहाँ रहुँ वा बसुँ, जहिल्यै जुनसुकै स्वरुपमा प्रकट हुनसक्छ । अतः यस गम्भिर घटनाका विच हामीले आज गरेको हलुका टिप्पणीले भोली हाम्रो जिवनमा भारी महसुुस नहोस । यहाँहरुमा शुभकमना ।  
मेलम्ची बजार र यस आसपासका नगरहरु र स–साना शहरहरु र ग्रामिण बस्तिका उदयमान संरचनाहरुको विकास क्रमको शिलशिलामा अन्य स्थान र मुलुकहरुको जस्तै नदि किनार, सडक छेउ बन्न पुगेका हुन । यहाँका मात्र होइन संसारका नागरिकहरुलाई के रमाइलो छ र जिवन भर कमाएको सम्पत्ति यहाँहरुले टिप्पणी गरे जस्तो खोलामा हाल्न ! डिलबाट खसाल्न !..........हिजो सम्म बस्ति बजारमा थियो, नदि किनारमा बग्थ्यो, तर आज दुर्भाग्य बस्ति बगर भएको छ ! नदि वजार डुबाएर भित्र छ, पिडितहरु किनार पारि अन्तै दिनरात काटिररहेछन । पिडा असह्य छ ! तर सहनुको विकल्प छैन । यस्तै हलुका टिप्पणी गर्नेहरुले अमेरिका, अष्ट्रेलिया लगायत सुविधा सम्म मुलुकमा सामुन्द्रिक छाल आएर शहर डुवाँउदा चै के भन्ने, के चै ठान्ने ! 
यद्यपि यस स्थानमा विगत देखि वर्तमान सम्म संरचनाको विकास क्रममा के कस्तो मापदण्ड पालना गरियो वा गरिएन भन्ने विषय चै वास्तवमा एक महत्वपुर्ण प्रश्न हो । एकातर्फ हुन सक्छ हिजो हामीहरुको सानो गल्ति, कमजोरी वा अज्ञानताको कारण हामीले ति संरचना, सम्पत्ती गुमाउन बल पुुगेको पनि हुनसक्छ, भने आर्कोतर्फ सम्वन्धित निकायले समयमै अनुगमन नगर्दा, मापदण्डमा कडाई नगर्दा वा वेवास्ता गरेका कारण यो घटना घटेपछिको क्षति बढ्ेको पनि त हुनसक्छ ! यो अर्को खोजको विषय हुनसक्दछ,  खोज्नु जरुरी छ । जहाँ कमि र कमजोरी भएका छन त्यहाँ सच्चिनु आवश्यक छ । हलुका टिप्पणी आलोचना र सतही निष्कर्षले अरुको भावनामा चोट पुर्याउनु भन्दा पनि समग्रमा यो घटनाबाट तपाँई हामी आफैले पाठ सिक्नुपर्छ । सिङ्गो देशले पाठ सिक्नुपर्छ, ७७ जिल्लाकै सम्वन्धित निकायले आ आफ्नो क्षेत्रमा उच्च सावधानी अपनाउनु पर्छ र धनजनको क्षति हुनबाट आम नागरिकलाई जोगाउनु पर्छ । सकिन्छ मेलम्चीको हिजोको इतिहास र साखलाई जगाउन उत्प्रेरणा प्रदान गरौं, सकारात्मक सोचका साथ अगाडी बढौं । सकिन्न शान्त रहौं कल्याण यसैमा छ । 


बास्तवमा मेलम्ची नगरपालिका र हेलम्बु गाँउपालिकालाई परेको यति विध्न गहिरो चोटमा जे जति सकेको सहानभुति, सहयोग प्रकट दाताहरुले गर्नु भयो, जस्ले गरिरहनु भएको छ, ति सहयोगी हात र दाताहरु धन्यबादका पात्र हुन, यसलाई गलतरुपमा लिइएको छैन र लिनु पनि हुन्न । तर यस भेगका नागरिकले बाढिको बेदना यति विध्न सहि रहदाँ यहाँ केही दुःखका कुरा छन् जुन भन्नै पर्छ । 
एकातिर यस बाढि प्रभावित क्षेत्रका स्थानिय निकायमा बसेका पदिय व्यक्तिहरुलाई यो घटनाले दिन रात पोलिरहेको छ, एक हिसावको तनाव छ, । भएका महत्वपुर्ण सरकारी संरचनाहरु मासिएका छन् केही भासिएका छन् । व्यापार व्यवसाय चौपट भएकोछ । शिक्षा, स्वास्थ्य, सुरक्षा जस्ता महत्वपुर्ण सेवा प्रदान गर्न बनेका संरचनाहरु समेत आंशिक वा पुर्णरुपमा क्षति भएर चौपट भएकोछ । एक बस्ती देखि अर्को बस्ती एक आपसको आवागमन, सडक, विद्युत र संचारको सम्पर्कबाट विच्छेद भएको छ । अवस्था थप कहालीलाग्दो र जटिल छ । आर्कोतिर यसै भेगमा आफ्नो राजनितिक, सामाजिक र आर्थिक पृष्ठभूमि बलियो बनाएका वा शिक्षित व्यक्तिहरु राष्ट्रिय राजनिती, निति निर्माणको नेतृत्वदायी तह सम्म पुगेका छन । यस अर्थमा हामीले आफुलाई भाग्यमानी मान्नुपर्छ । यस बस्ती मै हुर्केर यहीँ वजारको नुन चाखेकाहरु वडा, नगर, प्रदेश र केन्द्र सम्म पुगेँकाछन् । तिनिहरु आशाको केन्द्र विन्दु हो । यो एक किसिमको भेगकै सफलता हो । 
तर यहाँ विडम्बना र दुःखका साथ भन्नु पर्छ कि यस घटनाका विच उनिहरुबाट प्राप्त गर्न सकिने आँट, भरोसा, हिम्मत, के समाजका ति वर्ग र व्यक्तिहरुले अनुभव र अनुभूति गर्न सकेका छन त ! उनिहरुले आफ्ना कार्यकर्तामा यस्तो मनोविज्ञान र प्रशिक्षण भरिदिएका छन् कि तिनका कार्यकर्ता भएकै नाताले तिनले आफ्नो नेताको कमजोरीमा आलोचना गर्न भन्दा पनि अरुले आलोचना गरेकोमा समेत खरो उत्रन्छन । भए गरेका छिटपुट कामको जस लिन असाध्यै होडबाजि गर्दछन् यसको ज्वलन्त उदाहरणको रुपमा हिजो मेलम्ची देखि हेलम्बु सम्मको सडकको ठाँउ ठाँउमा गरि भएका अवरोध करिब बढिमा ५०० मिटर सम्मको सड्कको सम्पर्क जोड्ने सिलसिलामा चलाएको डोजरमा आ आफ्नो नेताले गरेको भनेर सामाजिक संजालमा जस लिने होडबाजी चलिरहेको छ ! एउटा यो मेराले गरेको भनिरहेको छ !  आर्को यो मेराले चै गरेको भनिरहेको छ !.......यो जत्तिको गुलाम संसारको कुन शिक्षित समाजको कुन चै कुनामा होला ! हाम्रो विज्ञता, हाम्रो क्षमतालाई धिक्कार छ ।
हामीले समाजलाई कहाँ पुर्याउन खोजेका हौला ! हामी उठन नसकेको यहीँ गुलामी र चाकडी प्रबृतिले हो । संकटमा जुन दलका नेता वा कार्यकर्ताले गरेपनि उसले हाम्रो मतको कदर गर्ने हो, त्यो उसको कर्तव्य हो । त्यसका लागि दलको व्यानर आवश्यक पर्दैन, नेताको चाकडी आवश्यक पर्दैन, किनभने राजनीति कुन परिस्थिीति, कुन बेलामा गरिन्छ र कुन बेलामा गरिनु पर्छ, कमसेकम त्यसको त न्यूनतम  मर्यादाको ख्याल गरिनु आवश्यक छ र यो पनि बुझ्नु आवश्यक छ कि सिमित व्यक्तिले गर्ने दलगत, गुठगत राजनीति र व्यवहारले समाजको विकासमा नकारात्मक प्रभाव पार्ने र समाजको खण्डीकरण गर्न मलजल प्रदान गर्ने गर्दछ । के हामीले त्यहीँ चाहेका हौ त ? होइन भने यो सोच्नु जरुरी छ कि नेताहरु पब्लिक सर्भेन्ट हुन, कार्यकताहरु तिनका लागि खवरदारी गर्ने स्तम्भ हुन । तिनले जनताको मत लिने र ठाँउमा पुग्ने र काम नगर्ने हो भने त्यो राजनीतिक अभिभारा र अभिभावकत्व तिनले किन लिनु !  राजनिती जिवन चलाउने धन्दा होइन, व्यापार गर्ने हाँट वजार होइन । त्यो त नितान्त सेवा हो । नेताले गर्नैपर्छ । किन कि इमान्दार नेताले नागरिकको मतको अपमान किमार्थ गर्न सक्दैन र गर्न सुहाउदैन । 
आफूलाई इमान्दार कार्यकर्ता ठान्नेले राम्रोलाई राम्रो र गलतलाई गलत भनेर खवरदारी गर्नैपर्छ । उनिहरुले समाजमा कुन घटना र परिस्थिति कसरी आएको छ, यसको परिणाम र कारण के छ ! निकास र यसबाट पाउने छुटकाराको कल्पना गर्नुपर्छ र पिडितहरुको पिडा कसरी कम गर्ने भन्नेमा ध्यान खिच्नुपर्छ ! आम विश्वमा छरिएका नेपाली मनहरु र अन्य दाताहरुलाई कसरी सकारात्मक सन्देश प्रवाह गर्ने भन्नेमा आधारित हुनुपर्नेमा किन दलका कार्यकर्ताहरु नेताहरुको यति विध्न चाकडी, चाप्लुसी र चम्चागिरी गर्न व्यग्र छन ? यस प्रकारको सोचबाट मेलम्ची र हेलम्बु मुक्त हुनुपर्छ नत्र फेरि शहर उठन मुस्किल छ । कृपया अवस्थालाई झन जटिल नबनाउँ । सकिन्छ हर प्रयास सहजिकरणको बाटो तय गरौं । सकिदैन दुषित राजनीति गरेर समाज ध्वस्त गर्नु भन्दा विश्राम लिएर समाजको गरिमा जोगाऔँ । 
हुन त दल र तिनका तिनका कार्यकर्ताहरुलाई ज्ञान हुनु पर्ने हो आफ्ना महान नेता भन्नेहरु कोही हेलिकप्टरमा घुमे, कोही पैदल कुदेँ । गर्न सक्ने ठाँउमा बसेका छन् तर विज्ञप्ति मात्रै दिएर शान्त छन् । एउटा ठोस योजना सम्म दिएका छैन्न, क्याविनेटमा यो कुरो खरो रुपमा उठाइएको छैन्न ! तर दुर्भाग्य उल्टो छ, ताप्केको बिट वेसुरमा तातेको छ, पिधँ चिसै छ ।  घटना भएको यत्तिका दिन भै सक्यो । व्यवस्थापनको एउटा स्पष्ट खाँका सम्म कोरिएको छैन, ठाँउमा बस्ने ठाँउमा वसेर चुप छन् । दुई वोरा चामल, दुई चार थान कपडा त मनकारी व्यक्ति र संस्थाहरुले बाँडेकैछन । सामान्य कामको जस खोजेर बस्नु भन्दा आफ्ना तर्फबाट खवरदारी गरौ । जुनसुकै दल वा तिनका नेता हुन तिनलाई यो संकटबाट पार पाउन एक ढिक्का भएर आउन भनौं । जे डुव्यो, जे रहेन त्यसको पछि नलागौँ । जे वाँकी छ जसलाई जोगाउनु पर्ने हो, त्यसमा ध्यान खिच्न खवरदारी गरौँ । आफ्ना नेताहरुलाई भनौ  तिमी बाँचे र तिम्रा मतदाताहरु जोगिएमा फेरि राजनीति गरौँला, मैदान खालि छ ! पहिला मैदान बचाँउ, अनि खेल खेलौला ! तर पनि यिनका इमान्दार कार्यकर्ताहरुको मन अझै पोलेको छैन । नत्र आज हामी यो नियति भोग्दै छौँ । के यसमा पिडा हुनु पर्ने होइन र ? 
यहिँ मेलम्ची देखि हेलम्बु सम्म कोही लाखौ रुपैयाँ हेलिकप्टरमा तिरेर हजारौ रुपयाँको राहत बाढ्दैछन ! यो बाध्यताको सृजना कहाँ बाट भयो ? राहत भन्दा ढुवानी किन महँगो ! किन हामीले समन्वय गरेनौं, राहत संकलन र वितरणलाई किन व्यवस्थित गरिएन !  के यसको खवरदारी आवश्यक छैन ! कोही बिना प्रचार पनि राहतको वितरण गरेर आफ्नो कर्तव्य पुरा गरेर फर्केका छन् । कोही डोकाको भाडा तिरेर पोकाको मलम लाउदैछन । ठाँउमा पुगेकाहरु कानमा तेल हालेर आनन्द सँग बसेका छन । यिनलाई तिनका कार्यकर्ताले खवरदारी किन नगर्ने ! यसमा कार्यकर्ताको टाउको दुख्नु पर्दैन ? होइन भने आउनुस एकसाथ खण्डहर बनेको बस्तिमा भोट हाल्ने औला थिचौँ र आफैले आफैलाई धिक्कारौं । 
अन्तमा यो भन्नैपर्छ शालिनदिको मेला लागे भन्दा बढि मानिसहरु जम्मा भएर नदि किनार बगेको हेर्न छेवैमा थेगि नसक्नुको भिड बनाउने रमिते हाट बजार होइन मेलम्ची । यु टुव र सामाजिक संजालको न्यानोले तातो लाग्दैन ति पिडितहरुको चुलामा । त्यसका लागि त ठाँउमा पुग्नेले गर्ने हो । नसक्ने खवरदारी जारी राख्ने हो । प्राकृतिक विपत्ति बाजा बजाएर आउदैन । पाठ सिकेर अगाडी बढ्ने हो । बस्ती बाँचे नेताले गर्ने राजनीति, कार्यकर्ताले गर्ने चाकडी, भिडले लिने मनोरञ्जनमा कुनै कमि नहोला । पहिला रुख त बाँचोस दाउरा बाल्ने कि, काठ बनाँउने पछि सल्लाह गर्दै गरौला ।  (लेखक एक कानुन व्यवसायी तथा बाढि प्रभावित नगरपालिका भित्रका स्थानिय बासिन्दा हुन)