प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त शहीदका परिवारसँग आज छलफल गर्नुभएको छ ।

आज सिंहदरबारमा शहीद परिवारका तर्फबाट आएको प्रतिनिधिमण्डलसँग भएको छलफलका क्रममा सरकारले प्रदर्शनको ‘म्यान्डेट’अनुरुप गरेका कामका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शहीद परिवारका भोजविक्रम थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले चुनावको मात्र कुरा नगरी भ्रष्टाचारविरुद्धको कारबाही र आन्दोलनमा दमन गर्नेहरूलाई तत्काल पक्राउ गर्नुपर्ने धारणा पनि राखेको थियो ।

यस्तै, यसअघि सरकारसमक्ष राखेका १४ बुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने र पुनः आन्दोलनमा जान सक्ने अवस्था आउन नदिनेबारे पनि सचेत गराइएको जनाइको छ ।

प्रधानमन्त्री कार्कीले आन्दोलनको म्यान्डेट र शहीद परिवारका मागप्रति सरकार गम्भीर र इमानदार रहेको बताउनुभयो ।