प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठुलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरूलाई पक्राउ गरिएको हो । 

सोमबार गोप्य सूचनाका आधारमा प्रहरीले २७ लाख ७५ हजार नौ सय ७० सहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा मलङ्गवा नगरपालिका-३ बस्ने २४ वर्षका कमर राजा र लालबन्दी नगरपालिका–७, घरभई मलङ्गवा नगरपालिका-९, स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षका आरिफ अन्सारी छन् । प्रहरीका अनुसार मलङ्गवा नगरपालिका-९ बाट १० लाख र लक्ष्मी सनराइज बैङ्कको खातामा नौ लाख ९० हजार जम्मा गर्ने दुईवटा भौचरसहित उनीलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक सविनकुमार कार्कीले राजालाई पैसासहित पक्राउ गरिएको हो । साथै राजासँग सोधपुछ गर्ने क्रममा उनले उक्त पैसा अन्सारीको भनेपछि प्रहरीले अन्सारीको मोबाइल पसलमासमेत छापा मारेको थियो । पसलबाट स्रोत नखुलेको १७ लाख ७५ हजार नौ सय ७० बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले अन्सारीको मोबाइल पसलमा लुकाइएको अवस्थामा एक हजार दरका एक हजार चार सय ५४ थान, पाँच सय दरका छ सय २२ थान, एक सय दरका एक सय नौ थान, ५० को एक थान र २० को एक थान नेपाली नोट बरामद गरेको हो । 

पक्राउ परेका राजा र अन्सारीले बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरूले अवैध हुण्डी कारोबार गरेको आशङ्कामा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो । दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको उहाँको भनाइ छ । उनीहरूलाई प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि सोमबार बिहान मात्र सार्वजनिक गरिएको थियो । रासस