नेपालका लेग स्पिनर सन्दीप लामिछानेले विश्व कीर्तिमान रचेको खेलमा नेपालले स्कटल्यान्डमाथि सहज जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आइसिसी विश्वकप लिग–२ मा नेपालले सोमबार स्कटल्यान्डलाई ६ विकेटले हरायो ।  जितसँगै लिगमा २७ खेलबाट २२ अङ्क बनाएको नेपाल पाँचौँ स्थानमा उक्लिएको छ । 

यसअघि नेपाल सातौँ स्थानमा थियो । पराजित स्कटल्यान्ड ३१ खेलबाट ३८ अङ्क जोड्दै शीर्षस्थानमा छ । यस सिरिजको अर्को टोली अमेरिका २६ खेलबाट ३६ अङ्कसहित दोस्रो स्थानमा छ । नेपालले यस सिरिजको अन्तिम खेल अब ८ गते अमेरिकासँग खेल्ने छ ।

जितका लागि एक सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा चार विकेटको क्षतिमा एक सय ९९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । 

नेपालका लागि कप्तान रोहितकुमार पौडेल र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेल्नुभयो । रोहितले अविजित ७४ रन बनाउनुभयो । उहाँले ९८ बलमा पाँच चौका र दुई छक्का हान्नुभयो । रोहितको यो खेल जीवनको १२औँ अर्धशतक हो । 

यस्तै इशान पाण्डेले ६१ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५५ रन बनाउनुभयो । ओपनर आशिफ शेखले २९ र कुशल भुर्तेलले २८ रन बनाउनुभयो ।

आरिफ शेखले अविजित आठ र दीपेन्द्रसिंह ऐरी दुई रनमा आउट हुनुभयो । बलिङमा स्कटल्यानडका मार्क वाटले दुई तथा ब्रान्डन म्याकमुलेनले एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा सबै विकेटको क्षतिमा  एक सय ९४ रन बनाएको थियो । 

स्कटल्यान्डका लागि ब्रान्डम क्याकमुलेनले सर्वाधिक ७३ रन बनाउनुभयो । उहाँले  ४४ बलमा ६ चौका र ६ नै छक्का हान्नुभयो । माइकल इङग्लिसले ५१, जर्स मुन्सीले २१ र मार्क वाटले २० रन बनाउनुभयो