सरकारले स्वीकृत मापदण्ड विपरीत बहाल वाला र पूर्व पदाधिकारीका नाममा अनधिकृत रूपमा खटाइएका २७१ अतिरिक्त सुरक्षाकर्मी फिर्ता गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा यही असोज २३ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्वीकृत मापदण्ड विपरीत अनधिकृत रूपमा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयसँगै पूर्व प्रधानमन्त्रीद्वारा केपी शर्मा ओलीको सुरक्षामा खटाइएका ४५ जना सुरक्षाकर्मीमध्ये २७ जना र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटाइएका ५२ जनामध्ये ३४ जना अतिरिक्त सुरक्षाकर्मी फिर्ता भएका थिए ।

सरकारले ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था कार्यविधि–२०७७’ अनुसार पूर्व राष्ट्रपतिदेखि पूर्व पदाधिकारी / पूर्व मन्त्री सहितको सुरक्षार्थ सुरक्षाकर्मी खटाउँदै आएको थियो । सुरक्षा व्यवस्था कार्यविधिमा पूर्व प्रधानमन्त्रीको सुरक्षार्थ बढीमा १८ जना सुरक्षाकर्मी खटाउने व्यवस्था छ ।

यस्तो सुविधालाई कतिपय बहालवाला तथा पूर्व उच्चपदस्थ अधिकारीले मनलाग्दी सुरक्षाकर्मी लिएर रवाफ देखाउने, घरको भान्छे, निजी चालक लगायत घरेलु कामदारका रूपमा दुरुपयोग गर्ने गरेको पनि पाइएको छ ।

गृह मन्त्रालयले अनधिकृत रूपमा सुरक्षाको नाममा मापदण्ड विपरीत खटाइएका सबै सुरक्षाकर्मीलाई फिर्ता गरी कार्य विधिले स्वीकृत गरेको सुरक्षाकर्मी मात्र खटाउने व्यवस्था गर्ने जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार अहिलेसम्म २७१ सुरक्षाकर्मी फिर्ता भएका छन् । हालसम्म फिर्ता हुनेमा नेपाल प्रहरीका १७४ र सशस्त्र प्रहरीका ७४ जना छन् । फिर्ता गरिएका सुरक्षाकर्मीलाई पूर्ववत् जिम्मेवारीमा खटाउने तयारी गरिएको छ ।।