राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको जीवनीमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’ यही वैशाख १० गतेदेखि हलमा प्रदर्शनी हुने भएको छ ।

उक्त फिल्मको आज ‘प्रिमियर सो’ सँगै आयोजित पत्रकार सम्मेलनमा देशभरका क्युएफएक्स हलमा फिल्म प्रदर्शन हुने पासाङल्हामु फाउन्डेशनले जानकारी दिएको छ ।

सगरमाथा आरोही पासाङल्हामु शेर्पाको यथार्थतामा आधारित रहेर अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक बढी समय मेहनत गरेर फिल्म तयार पारेको फाउन्डेशनका अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिनुभयो । बहत्तर मिनेट फिचर रहेको फिल्मको निर्माता शेरोन वुड र आङ दोर्जे शेर्पा रहनुभएको छ ।

सन् २०२२ मार्चमा सान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा रिलिज भएको यस फिल्म ३०औँ पासाङल्हामु दिवसको अवसर पारेर देशभर प्रदर्शन गर्न लागिएको फाउन्डेशनले जनाएको छ ।

फाउन्डेशनले सिभिलमलको हलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायत उच्च व्यक्तित्वको उपस्थितिमा नेपालमा पहिलो पटक फिल्मको प्रिमियर गरेको हो ।

सो अवसरमा सभामुख घिमिरेले नेपाली साहसिक प्रथम महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको जीवन सङ्घर्ष र सफलताको उचाइलाई नजिकबाट नियाल्न र समाजमा प्रेरणा जगाएन फिल्म उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “फिल्ममार्फत नेपालीले नेपालमा गरिरहेका सङ्घर्ष, तत्कालीन (३० वर्षअघिको) समाजमा महिलाले गरेको सङ्घर्ष र उपलब्धिले सबैलाई प्रेरणा दिएको छ । पासाङल्हामुले जीवन गुमाए पनि महिलामा साहसिक सन्देश दिएर नेपालको पहिचानलाई विश्वभर फैलाउनुभएको छ ।”

फिल्मले पासाङ ल्हामु शेर्पाको दुःखद् र प्रेरणादायी यात्राको वर्णन गर्दछ । नेपाली समाजमा दुर्गमका एक अशिक्षित, आदिवासी महिलाले अघि बढ्न गरेको सङ्घर्ष, यसको अवरोध र समाजदेखि परिवारसम्मको सहयोगलगायतका विषय जोडेर समाजलाई रूपान्तरणको सन्देश फिल्मले दिएको छ ।

पटकपटक सगरमाथा आरोहणको दृढ प्रयास गर्नु र बाधा अवरोधलाई जितेर सफलता प्राप्त गर्नु नै फिल्मको मुख्य सन्देश बनेको छ । यो फिल्म अन्तर्राष्ट्रिय क्षेत्रमा भएका ३० वटा फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ । टेलुराइड, कोलोराडो, बान्फ, क्यानडा र बेलायतको केन्डल माउन्टेन फेस्टिभल र अन्य प्रतिष्ठित फेस्टिभलसहित १४ वटा पुरस्कारसमेत जितिसकेको छ ।

पासाङल्हामु जस्ता साहसी महिलाबाट सपना बुन्नसक्ने, सफलता प्राप्त गर्न बाधा सामना गर्न सक्नु नै महिलाको एउटा उदाहरणीय साहस फिल्ममा देखाइएको छ । विद्यार्थी, अभिभावक र ज्येष्ठ नागरिकसम्म जनचेतना पुग्ने लक्ष्यले फिल्म प्रदर्शन क्युएफएक्समा मात्र नभएर लुक्ला, नाम्चेलगायतका सातै प्रदेशका मुख्यमुख्य सहरमा प्रदर्शन गर्ने फाउन्डेशनले जनाएको छ ।