नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरिरहेका पेट्रोल पम्प अबदेखि २४ सै घण्टा खुल्ने भएका छन् ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिने गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

उपप्रधानमन्त्री लामिछानेले पेट्रोलपम्प २४सै घण्टा खुला गर्न आदेश दिनुभएसँगै आजदेखि पम्पहरू खुला रहने नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । यसअघि प्रहरीद्वारा सञ्चालित पेट्रोलपम्पहरू विहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालित हुँदै आएका थिए ।

उहाँले भन्नुभयो, “मन्त्रीज्यूले २४सैँ घण्टा खुला गर्न आदेश दिनु भएसँगै हामीले पेट्रोलपम्प पम्प खुला गरेका छौँ ।”