कुशल भुर्तेल र कुशल मल्लको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मङ्गलबार मलेसियालाई ६ विकेटले हराएर आइसीसी टि२० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘ए’ बाट नेपाल र ओमानले एक खेलअघि नै अन्तिम चारमा स्थान बनाएका हुन् । नेपाल र ओमानले मङ्गलबार लगातार दोस्रो जित हात पारेका हुन् । यी दुई टिमबीच बिहीबार हुने भिडन्तले समूह ए विजेताको छिनोफानो गर्नेछ । आठ टिम सहभागी यस छनोट प्रतियोगिताको फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टि२० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टि२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकटको क्षतिमा १६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य तयार पारेको थियो । तर दुई कुशलले विस्फोटक ब्याटिङ गरेपछि नेपालले दुई ओभर बाँकी छँदै चार विकेटको क्षतिमा १६६ रन बनाएर लक्ष्य हासिल गर्यो । 

मल्लले मात्र ३४ बलमा सर्वाधिक ६५ रन बनाउनुभयो । उहाँको पालिमा सात छक्का र दुई चौका सामेल थियो । १९ वर्षीय मल्लले म्यान अफ दि म्याच बनेर ५० हजार रुपियाँ पनि प्राप्त गर्नुभयो । प्रारम्भिक ब्याट्सम्यान भुर्तेलले २५ बलमा चार चौका र चार छक्कासहित ४३ रन बनाएर आफू पछि आउने ब्याट्सम्यानलाई ब्याटिङ गर्न सहज बनाइदिनुभएको थियो ।

भुर्तेल र आसिफ शेखले मिलेर पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रनको साझेदारी निर्वाह गर्नुभएको थियो । जसमध्ये ४३ रन भुर्तेलको थियो । कुशल पवनदीप सिंहको बलिङमा क्याच आउट हुनुभयो । भुर्तेल आउट भएपछि तेज गतिमा खेलेका आसिफ २३ बलमा एक चौका र दुई छक्कासहित ३४ रन बनाएर  अमिर अजिमद्वारा ‘कट एन्ड बोल’ हुनुभयो । कप्तान रोहित पौडेलले आज दुई रन मात्र योगदान दिनुभयो ।  सन्दीप जोरा १८ र विवेक यादव दुई रनमा अविजित रहनुभयो । मलेसियाका अमिर अजिमले सर्वाधिक तीन विकेट लिनुभयो ।

यसअघि मलेसियाले ५.५ ओभरमा नै विना विकेटको क्षतिमा ५८ रन बनाएर नेपाललाई तर्साएको थियो । मलेसियाका प्रारम्भिक ब्याट्सम्यान सयद अजिजले ४९ बलमा आठ चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाउनुभयो । अविनाश बोहराले आप्mनो पहिलो ओभरमा नै हमद जुबेदीलाई २४ रनमा आउट गरेर नेपाललाई पहिलो सफलता दिलाउनुभएको हो । अविनाशले त्यसपछि थप तीन विकेट हासिल गर्नुभयो । अविनाश चार ओभरमा २७ रन खर्चेर चार ब्याट्सम्यानलाई आउट गरेर सर्वाधिक सफल बलर बन्नुभयो । नेपालका लागि सन्दीप लामिछाने, गुलसन झा र रोहितले एक–एक विकेट लिनुभयो ।