नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउने काम ख्यालठट्टा नभएको बताउँदै उहाँले जेनजी पुस्ताको माग सम्बोधनमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) भक्तपुरले बिहीबार भक्तपुरको गुण्डुमा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउँदै देशको परिवर्तन र विकासमा एमाले जत्तिको चिन्तित पार्टी कुनै नभएको दाबी गर्नुभयो । देशको परिवर्तन र समृद्धिका लागि एमाले स्थापनाकालदेखि सङ्घर्ष गर्दैआएको शक्ति भएको उहाँले प्रष्ट पार्नुभयो ।
जेनजी आन्दोलनको आवरणमा षडयन्त्रकारीहरूले नेपालको भौतिक संरचना ध्वस्त बनाएको बताउँदै उहाँले भन्नुभयो, “जेनजीको एजेण्डा मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नु हो । यहाँ सुशासन कायम हुनुपर्छ भन्ने हो । देशको समृद्धि र विकास हुनुपर्छ भन्ने हो । हामी सबैको माग पनि त्यही हो ।” सार्वजनिक पद धारणा गर्ने सबैको सम्पत्ति छानबिन गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।
आफू नेतृत्वको सरकारले सामाजिक सञ्जाल नरोकेको बरु नेपालमा दर्ता भएर चलाउ मात्र भनेको प्रष्ट पार्दै अध्यक्ष ओलीले भन्नुभयो, “टमाटर र तरकारी उत्पादनले कर तिर्छन्, सामाजिक सञ्जालबाट अरबाैं रुपियाँ कमाउनेले सरकारलाई कर तिर्नु पर्दैन ? नेपालमा दर्ता भएर कर तिर भनेका हौं, बन्द गरेका होइनौं ।” अराजकता मच्चाउन सामाजिक सञ्जाल बन्द गरिएको आरोप लगाइएको उहाँले टिप्पणी गर्नुभयो ।
प्रतिकृयाहरु