पोखराको फेवातालमा आजदेखि ड्रागन बोट रेस फेस्टिवल सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पहिलो पटक यो फेस्टिवल सुरु भएको हो । 

फेस्टिवल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किंरातीले उद्घाटन गर्नुभयो । सो अवसरमा नेपालसहित विभिन्न देशका सांस्कृतिक प्रस्तुतिसमेत भएका थिए । झिलिमिली बोट, प्रतिस्पर्धी र दर्शकहरुले फेवातालको रौनक फेरिएको थियो ।  

फेस्टिवलमा नेपाली दुई टिम सेमिफाइनल प्रवेश गरेका छन् । २०० मिटर र ५०० दुबै इभेन्टमा नेपालको नारा ड्रागन बोट टिम र एनआरसीए ड्रागन टिम सेमिफाइनल पुगेका हुन् । २०० मिटरको इभेन्टमा चीनको सिचुआन ड्रागन बोट प्रथम हुँदै अन्तिम चारमा प्रवेश गरेको हो । सो टिम निर्धारित दूरी १:४८:८१ मिनेटमा पार गर्दै प्रथम भएको हो । 

यस्तै, नेपालको नारा ड्रागन बोटले निर्धारित दूरी १:५३:१४ मिनेटमा पूरा गर्दै दोस्रो स्थानमा आएको हो । चीनको युनान ड्रागन बोट (१:५५:७७ मिनेट) र नेपालको एनआरसीए ड्रागन बोट (१:५६:९२ मिनेट) क्रमशः तेस्रो र चौथो हुँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएका हुन् । 

सोही इभेन्टमा भाग लिएका नेपालको फेवा लेक ड्रागन बोट, पोखरा महानगरपालिकाको ड्रागन बोट, चाइना–नेपाल फ्रेन्डसिप ड्रागन बोट टिम तथा सिंगापुरको एसजी ड्रागन्स् टिम बाहिरिएका छन् । 

यसैगरी ५०० मिटर इभेन्टमा चीनको सिचुआन ड्रागन बोट टिम निर्धारित दूरी ४:३८:३३ मिनेटमा पूरा गर्दै प्रथम भएको छ । नेपालको नारा ड्रागन (४:४७:२९ मिनेट), चीनको युनान ड्रागन (४:५३:२२ मिनेट) र नेपालकै एनआरसीए ड्रागन (५:०२:१८ मिनेट) मा निर्धारित ५०० मिटरको दूरी पार गर्दै क्रमशः दोस्रो, तेस्रो र चौथो भएको छ । 

आयोजकमध्येको नेपाल पर्यटन बोर्डका अधिकृत रविन रेग्मीका अनुसार सेमिफाइनलमा पुगेका टिमहरुले शनिबार एक–एक चरणमा २०० र ५०० मिटरमा पुनः प्रतिस्पर्धा गर्नेछन् । ५०० मिटरको इभेन्टमा फेवा बोट, पोखरा महानगरपालिका, चाइना–नेपाल फ्रेन्डसिप र एसजी ड्रागन टिम बाहिरिएका छन् । 

एउटा टिममा १२ जनासम्म खेलाडी छन् । विजेताले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । पुरस्कारका लागि नगद ३० लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि आवश्यक बोट तथा आवश्यक सामग्री चीनबाट ल्याइएको छ । ती सामग्री केरुङ नाका हुँदै भित्राइएको हो । बुधबार चीनको लिङ्जी नगरबाट नगर उपप्रमुखसहित ६० जनाको टोली चार्टर उडानबाट पोखरा आएको छ । 

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलगायतले फेस्टिवल पोखराको पर्यटनमा टेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजनामा हुने फेस्टिवलमा होटल एसोसिएसन नेपाल (हान), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसन लगायत विभिन्न संघ संस्थाले सहकार्य गरेका छन् ।