पोखरामा शुक्रबारदेखि सुरु भएको पहिलो नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनकै सछ्वान ड्रागन बोट टिमले हात पारेको छ। शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सछ्वान टिमले जित निकालेको अनलाइनखबरले लेखेको छ।
प्रतियोगितामा पहिलो भएको सछ्वान ड्रागन बोट टिमले २ सय र ५ सय मिटर दुवै विधामा उत्कृष्ट बन्दै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ हात पारेको छ। त्यस्तै, प्रतियोगितामा नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ दोस्रो बन्न सफल भएको छ। २ र ५ सय मिटर दुवै विधामा दोस्रो स्थान बनाएका उपाधिसँगै ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ हात पारेको छ।
मैत्रीपूर्ण प्रतिस्पर्धामा चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ। दुवै विधामा तेस्रो युनानले प्रति विधा २ लाखका दरले ४ लाख रुपैयाँ हात पारेको छ। प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो।
प्रतियोगितामा नेपाल र चीनका ४–४ गरी ८ टिम सहभागी थिए। शुक्रबार भएको समूह चरणको खेलबाट नेपालका २ र चीनका २ टिम अन्तिम ४ मा प्रवेश गरेका थिए। प्रतियोगितामा भाग लिएका ८ वटै टिमले जनही नगद १, १ लाख रुपैयाँदरले प्राप्त गरेका छन्।
विजेता खेलाडीलाई राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगरका मेयर धनराज आचार्यलगायतले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो।
साथै ड्रागन बोट फेस्टिबलमा प्रयोग गरिएका ८ वटा फाइबरका डुंगाहरू (नौका) चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ। काठबाट बनेको नेपाली परम्परागत डुंगाभन्दा फरक फाइबरले बनेको ड्रागन मुखाकृतिका ८ वटा डुंगा केरुङ नाका हुँदै पोखरा ल्याइएको थियो।
चिनियाँहरुको महत्वपूर्ण चार पर्वमध्येको ड्रागन बोट महोत्सवमा यस वर्षदेखि नेपालमा पनि मनाउन सुरु गरिएको हो। नेपालमा पहिलो पटक महोत्सव मनाउन चीनबाटै खेलाडीसहित विभिन्न प्रान्तका नगरप्रमुख, उपप्रमुख, कलाकार गत बुधबार चीनको छन्तुबाट सछ्वान एअरलाइन्सको न्यारोबडी ए–३१९ जहाजबाट बुधबारनै बिहान पोखरा अवतरण गरेका थिए। चार्टड गरेर ल्याइएको उक्त विमान नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको पहिलो अन्तर्राष्ट्रिय विमान पनि हो।