नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो ।

नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्याडना ४७.५ ओभरमा २१७ रनमा अलआउट भयो । नेपालको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए ।

नेपालले ४४ ओभरको अन्तिम बल र ४५ ओभरको दोस्रो बलमा विकेट लिँदै तीन बलको अन्तरमा दुई विकेट लिदा खेल रोमाञ्चक मोडमा पुगेको थियो । सुरुमा क्यानडाका उदय भगवानलाई नेपालका कप्तान रोहित कुमार पौडेलले ६ रनमा बोल्ड गरे । तीन बलपछि ललित राजवंशीले क्यानडाका साद बीन जोफरलाई एलबिडब्लूको धरापमा पारेका थिए ।

यस्तै नेपालका ललित राजवंशीले डिलोन हेलिङ्गरलाई नवौं विकेटको रुपमा २ रनमा एलबिडब्लूको धरापमा पारे। त्यतिबेला क्यानडालाई जितका लागि १९ बलमा १३ रन चाहिएको थियो भने १ विकेट मात्र बचेको थियो ।

यसपछि ६ रन बनाएको क्याडनाका इश्वर सोधीलाई नेपालका कप्तान रोहित पौडेलले ४७.५ ओभरमा शून्यमा बोल्ड गर्दा नेपालले रोमाञ्चक जित हात पार्‍यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतकमा ५० ओभरमा सबै विकेट गुमाउँदा २२४ रन जोड्यो । एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका कुशलले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडे ।

कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनमै पेभिलियन फर्के। भीम सार्की १७ रन र कुशल मल्ल पनि २० मै आउट हुन बाध्य भए ।

आरिफ शेखले ३८ रन जोड्दा नेपालको स्कोर बढेको थियो। आरिफले ५० बलमा ४ चौका प्रहार गरे । पवन सर्राफ पनि चल्लन सकेन् । सोमपाल कामीले जोडेको २७ रन नेपालका लागि महत्वपूर्ण सावित भयो । ४९ ओभरको पाँचौं बलमा आउट हुनुअघि उनले २३ बलमा १ चौका र २ छक्का प्रहार गरे । रिजन ढकाल अन्तिम ओभरमा ४ रनमा आउट भए भने सूर्य तामाङ १० रनमा नटआउट रहे । रिजन र सूर्यले नेपाली टिमबाट एकदिवसीय खेलमा डेब्यू गरेका हुन् ।

नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो । अब नेपालले दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार खेल्नेछ ।