करदाताले बुझाएको कर विवरणको पूर्ण परीक्षण गर्दा सरकारले प्राप्त गर्नुपर्ने २६ अर्ब रुपियाँभन्दा बढी कर नोक्सान हुनबाट जोगिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा त्यसरी पूर्ण कर परीक्षण गर्दा २६ अर्ब ६० करोड रुपियाँ नोक्सानी घटेको आन्तरिक राजस्व विभागले जनाएको छ । 

विभाग अन्तर्गत ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा आन्तरिक राजस्व कार्यालयमार्फत गरिएको पूर्ण कर परीक्षणबाट लक्ष्यभन्दा ७१ प्रतिशत बढी नोक्सानी घटाइएको विभागले जनाएको छ । 

गत आवमा विभागले पूर्ण कर परीक्षणमार्फत १५ अर्ब ५० करोड रुपियाँ नोक्सानी घटाउने लक्ष्य राखेको थियो तर लक्ष्यभन्दा ११ अर्ब रुपियाँ बढी कर नोक्सान हुनबाट जोगिएको विभागको प्रतिवेदनमा उल्लेख छ । 

गत आवमा विभागले छ हजार ५३९ वटा कर विवरणको पूर्ण परीक्षण गर्ने लक्ष्य लिएको थियो । जसमध्ये चार हजार दुई सय नयाँ र बक्यौता रहेको पुरानो दुई हजार ३३९ वटा विवरणको परीक्षण गर्ने विभागको लक्ष्य थियो । यसमध्ये पाँच हजार २७६ वटा विवरणको मात्र परीक्षण हुन सकेको विभागले जनाएको छ । 

विभिन्न कर शीर्षकमध्ये विभागले आय कर निर्धारणतर्फ १० अर्ब ५० करोड आय कर निर्धारण गर्ने लक्ष्य राखेकामा १५ अर्ब ३२ करोड रुपियाँ आयकर निर्धारण गरेको छ । त्यस्तै दुई अर्ब ७५ करोड मूल्य अभिवृद्धि कर निर्धारण गर्ने लक्ष्य रहेकामा चार अर्ब २१ करोड रुपियाँ कर निर्धारण भएको छ । अन्तःशुल्कतर्फ १२ करोड ५० लाख रुपियाँ निर्धारण गर्ने लक्ष्य रहेकामा ३३ करोड ६२ लाख रुपियाँ निर्धारण भएको विभागको तथ्याङ्क छ । 

यसरी पूर्ण कर परीक्षण गर्दा कर विवरणमध्ये प्रतिकरदाता औसत एक करोड ५६ लाख रुपियाँ नोक्सानी घटेको हिसाब छ । आयकरतर्फ पूर्ण कर परीक्षणपश्चात् प्रतिकरदाता औसतमा २७ लाख छ हजार, मूल्य अभिवृद्धि करतर्फ प्रतिकरदाता औसतमा पाँच लाख ६९ हजार र अन्तःशुल्कतर्फ प्रतिकरदाता २२ हजार रुपियाँ कर निर्धारण भएको पनि विभागले जनाएको छ । 

पूर्ण कर परीक्षणबाहेक कर परीक्षणबाट पनि विभागले कर नोक्सानी घटाएको उल्लेख गरेको छ । विभागका अनुसार गत आवमा सात सय करदाताको कर परीक्षण गर्ने लक्ष्य रहेकामा ६८२ करदाताको कर परीक्षण सम्पन्न भएको थियो । जसबाट ५१ करोड मूल्य अभिवृद्धि कर निर्धारण गर्ने लक्ष्य रहेकामा ५९ करोड २८ लाख कर निर्धारण भएको तथ्याङ्क छ । 

त्यस्तै अग्रिम कर कट्टी परीक्षणतर्फ दुई हजार ५५० करदाताको कर परीक्षण गर्ने लक्ष्य रहेकामा दुई हजार ५१८ वटा कर परीक्षण भएको पनि विभागले उल्लेख गरेको छ । अग्रिम कर कट्टीतर्फ गत आवमा परीक्षणबाट एक अर्ब चार करोड रुपियाँ माग हुन सफल भएको विभागले जनाएको छ । 

विभागले गरेको बजार अनुगमनका कारण पनि राजस्व केही थप भएको छ । गत आवमा १८ हजार करदाताको स्थल अनुगमन गर्ने लक्ष्य रहेकामा १८ हजार ९९५ करदाताको बजार अनुगमन भई विभागले दुई करोड ६८ लाख जरिबाना निर्धारण गरेको छ । 

विभाग अन्तर्गतका ठुला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयका लागि पाँच वटा समूह परीक्षण गर्ने लक्ष्य राखेकामा विभागले गत आवमा दुई वटा मात्र समूह परीक्षण गरेको छ । 

यस्तो समूह परीक्षणबाट दुई लाख ९७ हजार मूल्य अभिवृद्धि कर र ८२ लाख ३६ हजार आयकर निर्धारण भएको विभागले जनाएको छ । करदाताले बुझाएको कर विवरणमा चित्त नबुझे अथवा शङ्का लागेमा विभागले कर परीक्षण गर्छ । आवश्यकता अनुसार कर परीक्षण तथा पूर्ण कर परीक्षण विधि, समूह कर परीक्षण विधिमार्फत विभागले कर निर्धारण गर्छ ।