विश्वमा नै शालिग्राम शिला पाइने एकमात्र नदी कालीगण्डकीलाई पर्यटन विकाससँग जोड्ने प्रयास थालिएको छ। शालिग्राम र कालीनदी नामबाट पनि चिनिने यस कालीगण्डकी नदीलाई आयआर्जनसँग जोड्दै यहाँको धार्मिक तथा पर्यटन विकासका लागि स्थानीय सरकारले योजना अगाडि सारेको राससले जनाएको छ।
नेपालमा कालीगण्डकी नदीको सभ्यता निकै नै पुरानो मानिन्छ। पाल्पाको राम्दीदेखि देवघाटसम्म एक ठाउँमा कालीगण्डकी उत्तर दिशातर्फ बगेकाले यसलाई उत्तरबाहिनी नदी पनि भनिन्छ।
कालीगण्डकी नदीको ऐतिहासिकता, धार्मिक, सम्भाव्यता र महत्वलाई जोगाउँदै पर्यटन विकास गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले नदी किनारमा पैदलमार्ग बनाउने योजना ल्याएको छ। नगरपालिकाभित्र पर्ने नदी किनारै किनार पैदलमार्ग बनाउने योजना ल्याइएको नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो। उहाँका अनुसार पैदलमार्गका लागि सङ्घीय समपूरक कोषबाट रु ६० लाख, रामपुर नगरपालिकाबाट रु ६० लाख गरी रु एक करोड २० लाख बराबरको बजेट विनियोजन गरिएको छ।
“कालीगण्डकी नदी हाम्रो सभ्यता हो, नदीलाई संरक्षण गरी यसलाई पर्यटनसँग जोडियो भने आयआर्जन पनि हुनेछ”, नगरप्रमुख थापाले भन्नुभयो, “अब छिट्टै काम सुरु गरेर अबको एक वर्षभित्र पैदलमार्गको काम सम्पन्न गर्ने योजना छ।” उहाँका अनुसार रामपुर नगरपालिका–१ को स्याउली बजारदेखि वडा नं. १० को सिद्धबाबा मन्दिरसम्म नदीको किनारै किनार पैदलमार्ग बन्नेछ।
पैदलमार्गमा पदयात्राका साथै साइकल मार्ग, ठाउँठाउँमा कोसेलीघर, आवासगृह, शौचालय, नदी किनारमा स्नान गर्ने स्थल तयार गरिने नगरप्रमुख थापाले बताउनुभयो। उहाँका अनुसार राम्दीदेखि देवघाटसम्म कालीगण्डकी नदी किनारमा पैदलमार्ग बनाउने योजना रहेको छ।
“रामपुर नगरभित्र मात्र नभई यसलाई राम्दीदेखि देवघाट क्षेत्रभित्र जोडिएका सबै पालिकाले आ–आफ्नो क्षेत्रमा पैदलमार्ग निर्माण गरेमा पर्यटन विकासले धेरै फड्को मार्नेछ”, नगरप्रमुख थापाले भन्नुभयो।
लुम्बिनी र गण्डकी दुई प्रदेश बीचको साझा नदी भएकाले नदीको तटमा पैदलमार्ग निर्माण गरेपछि नदी वारिपारिको पर्यटन विकास, स्थानीयको दैनिक जीवनयापनमा धेरै फाइदा पुग्ने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताउनुभयो।
“पैदलमार्ग निर्माणले कालीगण्डकीको संरक्षण हुनुका साथै स्थानीयको आयआर्जनको माध्यम बन्नेछ”, उहाँले भन्नुभयो। न्यौपानेका अनुसार पैदलमार्ग बनेपछि पर्यटकीय सहर पोखरा र लुम्बिनी आएका बाह्य पर्यटकपनि रामपुर भित्रिनेछन्।
कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवम् पर्यटकीय सभ्यता बोकेको नदी हो। दामोदर कुण्डदेखि बहेकी कालीगण्डकी नदीको महत्त्व र पर्यटन विकासका विषयमा बेलाबेलामा बहस हुने गरेका छन्। कालीगण्डकी मानिसको जीवनसँग जोडिनुका साथै यस क्षेत्रमा रहेका विभिन्न तीर्थस्थल, ऋषि महर्षिका आश्रमस्थल, धाम, घाट र मानव बस्तीका कारण यसको सभ्यता वैदिककालसँग जोडिएको छ। कालीगण्डकीको पौराणिक महत्त्व र यहाँ पाइने शालिग्राम शिलाबाट आकर्षित भई विभिन्न ऋषिगणले यस क्षेत्रमा आई योग, तपस्या र साधना गरेका दृष्टान्तहरू भेटिन्छन्।