तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा माइक्रोबस दुर्घटना हुँदा अवरुद्ध बनेको पृथ्वीराजमार्ग करिब डेढ घण्टापछि सञ्चालनमा आएको छ। दुर्घटनामा परेको गाडी हटाएपछि बिहीबार साँझ ६ बजेदेखि राजमार्गमा यातायात पुनः सञ्चालनमा आएको हो।
काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ०१७१ नम्बरको माइक्रोबस बिहीबार दिउँसो ४:२५ बजे अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनाग्रस्त सवारी सडकमै रहेकाले पृथ्वीराजमार्ग एकतर्फी अवरुद्ध बनेको थियो।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको कमान्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ।
माइक्रोबसमा सवार १२ जनामध्ये आठ जना घाइते भएका छन् भने चार जना सकुशल रहेका छन्। घाइतेमध्ये बाँकेको खजुरा गाउँपालिका–२ का ३२ वर्षीय रमेश क्षेत्री, काठमाडौँको नागार्जुन नगरपालिका–१ की ५६ वर्षीया शशिकला अधिकारी, कास्कीको पोखरा महानगरपालिका–११ का ५५ वर्षीय दयाराम पोखरेल, झापाको भद्रपुर नगरपालिका–१ की ३५ वर्षीया तारा सुब्बा, दैलेखको दुङ्गेश्वर गाउँपालिका–२ का २७ वर्षीय नवीन खड्का र सप्तरीको खडक नगरपालिका–४ का १७ वर्षीय उज्ज्वल यादवको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ।
यसैगरी, बझाङको जयपृथ्वी नगरपालिका–२ का २९ वर्षीय माधवप्रसाद जोशी र बझाङकै बित्थडचिर गाउँपालिका–८ का २४ वर्षीय जीवन जोशीको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृयाहरु