काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ ।

प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्म स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । प्राधिकरणले प्याराग्लाइडिङ उडान खेलसम्बन्धी नीति, नियम तथा कानूनहरू व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानून बनेपछि पुनः सञ्चालन अनुमति दिने निर्णय गरेको छ ।

उडान खेल अन्तर्गत पर्ने प्याराग्लाइडिङमा पछिल्ला दिनमा दुर्घटना बढेपछि प्राधिकरणले उडानमा रोक लगाएको हो । हिजो बिहान पोखराको साराङकोटमा प्याराग्लाइडिङ उडानकै क्रममा दुर्घटना हुँदा खेलाडी निसिम थापाको मृत्यु भएको थियो ।

पोखरा महानगरपालिका–१८ स्थित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा अकस्मात सय मिटर माथिबाट खस्दा थापाको मृत्यु भएको हो । उनले त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा भाग लिएका थिए ।