काठमाडौँ, श्रावण २५ गते ।

स्थानीय बासिन्दा मिनबहादुर श्रेष्ठका अनुसार १२ वर्षमा खोला फर्किन्छ भन्ने भनाइ अहिले मनोहरा खोलामा लागू भएको छ । 

श्रेष्ठ भन्नुहुन्छ, “१२ वर्षमा खोला फर्किन्छ, त्यही भएको हो । आफूले देखेअनुसार १२ वर्ष पहिले पनि यहाँ यस्तै ठूलो बाढी आएर खोलाको छेउछाउका बस्तीमा क्षति पुगेको थियो । आज पुनः खोला फर्किएको छ, मैले देखेअनुसार मानिसहरु खोला मिचेर घर बनाउँछन् । खोला बग्ने ठाउँमा घर बनेपछि खोला कता कुदोस् त?’’ 

मंगलबार राति अबिरल परेको पानी पछि आएको बाढीले काठमाडौँको काँडाघारीमा रहेका अव्यवस्थित बस्तीका १३ घरमध्ये तीनवटा घर बगाएको छ । साथै त्यस क्षेत्रका झण्डै तीन सय घर डुबानमा परेका छन् । 

मनहरा खोलाको डुबान र कटानको कारण ती घर टहरामा पानी पसी ती बस्तीमा क्षति पुगेको हो । बाढीले मनोहरा आसपासका सुकुम्बासी बस्तीका करिब एक सय घर डुबाएको छ । काँडाघारी प्रहरी प्रभागसहित आसपासका करिब दुई सय घर बाढीले डुबाएको हो ।

बुधबार दिउँसोबाट डुबान भएको क्षेत्रमा पानीको सतह घटिसकेको छ भने क्षतिको एकिन विवरण अझै आएको छैन । वर्षापछि मनोहरा खोलामा बाढी आउँदा आसपासका दर्जनौँ बस्ती डुबानमा परेका थियो ।  

प्रहरी प्रभाग काँडाघारीका प्रमुख सुजन पाठकले बाढीले ठूलो मात्रामा पशुचौपाया, लत्ताकपडा, खाद्यान्नका सामग्री बगाएको, भौतिक संरचनामासमेत क्षति पुगेको र कुनै मानवीय क्षति भने नभएको बताउनुभयो । 

तीन सयजनाको उद्धार

उहाँका अनुसार मनोहरा खोलामा आएको बाढीका कारण आसपासका दर्जनौँ बस्तीहरु डुबानमा परेका हुन्  । डुबानमा परेका र सम्भावित जोखिममा रहेका करिब साढे तीन सयजनालाई प्रहरीले मंगलबार राति नै उद्धार गरेको थियो । जडीबुटी क्षेत्रको सुकुम्बासी बस्तीका तीनसय जनालाई उद्धार गरी कोटेश्वर बहुमुखी क्याम्पसमा राखिएको प्रमुख पाठकको भनाइ छ । 

यसैगरी, शंखरापुर नगरपालिका–६ र ९ तथा कागेश्वरी मनोहरा नगरपालिका–४ बाट १७ जनालाई उद्धार गरिएको छ । मनोहरामा चारवटा अन्य साना खोला पनि मिसिएका छन् । त्यही क्षेत्रमा बढी क्षति भएको जानकारी स्थानीयबासीले दिएका छन् । 

महादेव खोलामा आएको बाढीले विद्युत्का पोलमा क्षति पुर्याएका कारण विद्युत सेवासमेत अवरुद्ध भएको प्रमुख पाठकले जानकारी दिनुभयो । पेप्सीकोला क्षेत्रबाट १५ जनाको उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ । 

वर्षाले खोलामा बहाव बढेपछि खोला किनारा कटान गरी आसपासका बस्तीमा बाढी पसेको अव्यवस्थित बस्तीका बासिन्दा होमबहादुर सुनुवारले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बाढीले मानवीय क्षति भने नभएको तर, ठूलो मात्रामा पशुचौपाया, खाद्यान्न, लत्ताकपडालगायतका सामग्री बगाएको छ । हाम्रो कुरा सुन्ने स्थानीय सरकारले हो तर यो बस्तीका लागि आफूले केही गर्न नसक्ने भन्दै स्थानीय तहका पदाधिकारी पन्छिनु भएको छ ।”

भत्कियो पर्खाल 

स्थानीयवासीका अनुसार, अव्यवस्थित बस्तीका बासिन्दा बाढीबाट आफूहरू आज बाँच्न सक्नुको मुख्य कारण खोलामा लगाएको पर्खाल भत्किनु हो । एक ठाउँमा लगाएको पर्खाल भत्किएर बाढी बस्तीमा पसेको थियो भने अर्को ठाउँमा भत्केको पर्खालले बस्तीको पानी बाहिर निस्केको हो । पानी बाहिर निस्केपछि धेरै ठूलो क्षति हुनबाट जोगिएको हो । 

स्थानीयबासी सुनुवारले भन्नुभयो, “खोलामा लगाएको पर्खाल नभत्केको भए आज हाम्रो ज्यान जाने थियो । राति १२ बजे एक्कासि आएको बाढीले पूरै बस्ती डुबेको थियो ।” त्यहाँको दृश्य हेर्दा पानी साँच्चै कहाली लाग्दो थियो ।

अव्यवस्थित बस्तीको बिजोग

अव्यवस्थित बस्तीमा स्थानीय सरकारले ध्यान नदिएको स्थानीयको आरोप छ । नगरप्रमुख, वडा अध्यक्षलगायतका नेताहरु हेर्न आउने तर समस्याको समाधान कहिल्यै नगर्ने, समस्या ज्यूँउका त्यूउँ रहने गरेको स्थानीय बासी होमबहादुर सुनुवारले बताउनुभयो । 

उहाँका अनुसार, राष्ट्रिय भूमि आयोगले अव्यवस्थित बस्ती व्यवस्थित गर्न समितिसमेत गठन गरेको छ । “धेरै वर्ष भयो, कहिले समस्याको समाधान हुन्छ” उहाँले भन्नुभयो “म बसेकै १५ वर्ष भयो, मेरो परिवारका दुईजनाले यही टहरामा ज्यान गुमाइसके ।” उहाँ आफू सुकुम्बासी नभई अव्यवस्थित बस्तीको बासिन्दा रहेको बताउनुहुन्छ । 

सुनुवारले भन्नुभयो, “म सुकुम्बासी होइन, अव्यवस्थित बासिन्दा हुँ, मेरो नाममा पुर्खौली जिल्लामा जग्गा छ तर पहिरोले बगाएर राजश्व तिर्ने काम मात्रै हुन्छ, जीवन चलाउन केही गर्नै प¥यो, सरकारले जहाँ व्यवस्थापन गर्छ, हामी जान तयार छौँ ।”

-गोरखापत्र