क्यानडाले आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या कटौती गर्ने घोषणा गरेको छ । आवास तथा स्वास्थ्य सुविधाको चापका कारण संख्या कटौती गर्न लागिएको अध्यागमन अधिकारीहरुले बताएका छन् ।

अनियन्त्रित रूपमा विदेशी विद्यार्थी भित्र्याउँदा रोजगारी र शैक्षिक व्यवस्थापनमा समेत असर परेको भन्दै आलोचना भइरहेका बेला सरकारले यस्तो घोषणा गरेको हो ।

अध्यागमन मन्त्री मार्क मिलरले अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा दुई वर्षका लागि नियन्त्रण योजना घोषणा गरिएको बताउनुभयो । नयाँ व्यवस्थाबाट अन्तर्राष्ट्रिय विद्यार्थीबाट चर्को शुल्क लिई कमजोर शिक्षा दिने शिक्षालयलाई नियन्त्रण गर्न पनि सहज हुने विश्वास गरिएको छ ।

नयाँ व्यवस्था लागू भएपछि अध्ययन भिसामा ३५ प्रतिशतले कमी आउने छ । ओन्टारियो लगायत केही प्रान्तहरूमा ५० प्रतिशतभन्दा बढी कटौती हुनेछ । स्नातकोत्तर तहभन्दामाथि अध्ययन गर्ने विद्यार्थीहरुलाई भने नयाँ नियमले असर नगर्ने बताइएको छ ।

क्यानडाले विभिन्न तहमा गरी करिव ८ लाख विदेशी विद्यार्थी भित्र्याउने गरेकोमा अब यो संख्या घट्ने भएको हो । क्यानडाले यसवर्ष स्नातक तहमा करिव ३ लाख ६० हजार विदेशी विद्यार्थी भर्ना लिने नीति बनाएको छ ।

नेपालबाट गत वर्ष सन् २०२३ मा क्यानडा अध्ययन गर्न जाने विद्यार्थी संख्या १५ हजार भन्दा बढी भएको नेपाल शैक्षिक परामर्श संघले जनाएको छ ।