काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।  शुक्रबार जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको हो । 

अदालतले सन्दीपलाई कति समय जेल सजाय गर्ने भन्ने निर्णय भने गरेको छैन । उक्त निर्णय भने अर्को पेशीमा अदालतले गर्नेछ । इजलासले गौशाला २६ को आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर सन्दीपले बलात्कार गरेको ठहर गरेको छ । दोषी लामिछानेको सजाय भने पुस २५ गतेको पेसीबाट निर्धारण हुनेछ । अदालतले किशोरी नाबालिग नरहेको ठहर गरेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष भदौ ५ गते सन्दीपले गौशालाको एक होटलमा लगेर बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेका थिए । यो मुद्दामा आइतबारदेखि निरन्तर बहस भएको थियो । 

लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।  प्रहरीले भदौ २२ गते मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । भदौ २३ मा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।